प्राप्त उपलब्धिको रक्षाका लागी गठबन्धन बचाउनु अहिलेको आवश्यकता – प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा

खबरपथ संवाददाता
४ कार्तिक २०७९, शुक्रबार २२:३१

बुटवल । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाले गणतन्त्र ,संघियता, समाबेसीता जस्ता प्राप्त उपलब्धिको रक्षाका लागी गठबन्धन बचाउनु नै अहिलेको आवश्यकता रहेको बताउनु भएको छ ।

शुक्रबार रुपन्देहीको बुटवलमा सत्ता गठबन्धनद्वारा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो -‘ पार्टीले यो गठबन्धन बचाउनु अति आवस्यक छ । यसमा कुनै शंका उपशंका गर्ने ठाउँ दिनुहुँदैन , अझै केही वर्षसम्म नेपालमा समावेशिता, संविधान र गणतन्त्रको रक्षागर्न गठबन्धन आवश्यक छ’, भोलिका दिनमा गठबन्धनकै सरकार बन्ने र अबको दश बीस बर्षनै गठबन्धनबाट अघि बढ्ने समेत उहांको भनाइ छ ।

देउवाले कांग्रेसले सबैभन्दा बढी उदारता देखाएर गठबन्धनलाइ सफल बनाउनुपर्ने बताउनुभयो । देउवाले संविधानको रक्षा प्रमुख काम भएको धारणा राख्नुभयो ।

संविधान सिध्याउन खोज्नेहरुले अझै पनि प्रतिगामी गठबन्धन गरेर अघि बढेकाले अझै केही वर्ष गठबन्धन जरुरी भएको बताउनुभयो । ‘यो गठबन्धन चुनावसम्मका लागि मात्र होइन, धेरै वर्ष रहनुपर्छ,’ उहाँले भन्नुभयो, ‘यसलाई बचाउने भनेकै आगामी निर्वाचनले हो, त्यसैले गठबन्धनमा शंका उपशंका र यताउता गर्ने छुट कसैलाई छैन ।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान क्षतविक्षत गरेर संविधानलाई समाप्त पार्ने प्रयास भएपछि गठबन्धन गरेर अघि बढेको बताउनुभयो । ‘हामीले जोखिम नउठाएको भए, प्रतिकार नगरेको भए आज संविधान नै क्षतविक्षत हुने थियो, लोकतन्त्र खल्बलिने थियो,’ नेपालले भन्नुभयो , ‘हामीले त्यही संविधान रक्षा गर्न यो जोखिम मोलेका थियौं । आज यो लोकतान्त्रिक गठबन्धन त्यही जोखिमको निरन्तरता हो ।’
त्यसै्रगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यस पटकको निर्वाचनको विशेष अर्थ र महत्त्व रहेको बताउनुभयो । दुईतिहाइको सरकार ध्वस्त पारेर देशलाई अराजकता र अस्थिरतातिर धकेल्ने र लोकतन्त्र सिध्याउने प्रयास भएपछि गठबन्धन गर्नुपरेको उहाँको भनाई थियो ।
प्रचण्डले दुईतिहाइ प्राप्त सरकारले देश र जनताको पक्षमा काम गर्न छोडेर सुनियोजित रूपमा भ्रष्टाचार र कोभिडको चरम संक्रमणको बेलामासमेत त्यही कोभिडको उपकरण र औषधिमाथि भ्रष्टाचार गर्न थालेपछि जनताको रक्षा गर्न पनि गठबन्धन बनेको बताउनुभयो ।
‘भ्रष्टाचार नियन्त्रण गरौं, सुशासन कायम गरौं भन्दा उल्टै हामीलाई काम गर्न दिएनन् भन्ने आरोप लगाइयो,’ दाहालले भने, ‘भ्रष्टाचारको विरोध गर्दा उल्टै सार्वभौम सत्ता नै समाप्त गर्ने प्रयास भएपछि त्यसबाट देश, संविधान र लोकत्न्त्र जोगाउन हामीले यो गठबन्धन बनाएका हौं ।’ पाँच दलीय गठबन्धन नबनेको भए गणतन्त्र उल्टिने निश्चित भएको पनि उहाँले ठोकुवा गर्नुभयो ।
‘त्यो खतरा अझै जारी छ,’ दाहालले भन्नुभयो, ‘त्यसैले त्यसलाई परास्त गर्ने मंसिर ४ को निर्वाचनले नै हो ।’ त्यसैले आफूभित्रको हरेक असन्तुष्टिलाई बिर्सेर लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उहाँले अपिल गर्नुभयो ।
यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो चुनावमा मुलुकमा दुई गठबन्धन होइन अग्रगामी र प्रतिगमन पक्षधरबीचको प्रतिस्पर्धा भएको बताउनुभयो । ‘हामीले अग्रगमन पक्षधरको नेतृत्व गर्दै लोकतान्त्रिक गठबन्धन गरेका छौं,’ उहाँले भन्नुभयो, ‘त्यसलाई जिताउन हरेक किसिमका प्रयास गर्नुहोला ।’ गठबन्धन सामान्य तालमेल र सत्ता बनाउनका लागि नभई व्यवस्था बचाउनका लागि भएको उहाँको दाबी थियो ।
‘त्यसलाई खल्बलिन दिनु हुँदैन । त्यही अनुसार सबै दलले अलिकति घन्चमन्च सहेर भए पनि एकताका साथ अघि बढनु होला,’ पौडेलले भन्नुभयो ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले सहमति, सहकार्य र एकताले नै संविधान जारी भएको उल्लेख गर्दै त्यही संविधानको रक्षाका लागि अहिले पनि पाँच दल सहमति, सहकार्य र एकताका साथ अघि बढेको बताउनुभयो । ‘गठबन्धनभित्रको आवश्यकता र एकताले नै संविधानको रक्षा गर्नेछ,’ उहाँले भन्नुभयो, ‘त्यसैले तपाइँहरूको लगनशिलता, क्रियाशिलता र दृढता संविधानको रक्षाका लागि मंसिर ४ गतेको चुनावमा देखिनु जरुरी छ ।’
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रेश्मीराज नेपाली, लोसपाका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष पाण्डेय,नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य यादव बहादुर रायमाझी लगायतले सम्बोधन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*