निर्वाचन सफल पार्न सबै लागौं : गृहमन्त्री खाँण

खबरपथ संवाददाता
१७ कार्तिक २०७९, बिहीबार १०:२६

बुुटवल । गृहमन्त्री बालकृष्ण खाँणले बर्तमान ब्यबस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीति भन्दा बाहिर रहेका दलहरुलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् । उनले असन्तुष्टि जाहेर गर्ने अधिकार सवै नागरिक र दलहरुलाई भए पनि निर्वाचन विथोल्ने अधिकार भने कसैलाई नभएको स्पष्ट पारे ।

बुधबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बल्याउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार कसैलाई नभएको भन्दै मूलधारको राजनीतिमा आउन समेत आग्रह गरे । उनले निर्वाचन सफल पार्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । ‘हामी मिल्नेसम्म लचक भएर असन्तुुष्ट दलहरुसँग सम्वाद र छलफल गरिरहेका छौँ’, उनले भने, ‘कतिपय मागहरु ऐन संशोधन बिना सम्वोधन गर्न सकिँदैन । सरकारले ऐन तर्जुमा गरेर भए पनि जायज माग सम्वोधन गरी असन्तुुष्ट समूहरुलाई मूलधारमा ल्याउने प्रयत्न गरिरहेको छ ।’

गृहमन्त्री खाँणले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको पनि बताए । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्ययमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उनले भने, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’

उनले सरकार भयरहित, शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउन प्रतिवद्ध भएको बताउँदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिए । ‘सबै नागरिक सुरक्षित होउन् । ढुक्कसंग मतदानस्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्नु ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*