नेकपा एमाले रुपन्देही – २ को चुनाबी प्रतिवद्धतापत्र सार्वजनिक

खबरपथ संवाददाता
२० कार्तिक २०७९, आईतवार २१:०४

बुटवल । नेकपा एमालेले रुपन्देही -२ मा आफ्नो चुनाबी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । बुटवलमा आइतबार प्रतिवद्धतापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कालिगण्डकी डाईभर्सन परियोजना अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

रुपन्देही-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पौडेलले ठूला तथा महत्वकांक्षी योजनाहरु समेटिएको प्रतिवद्धतापत्र सार्वजनिक गर्नु भएको छ । प्रतिवद्धतापत्रमा कालिगण्डकी-तिनाउ डाइभर्सन, तिनाउ-दानव नदी कोरिडोर, गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा ट्रमिनल भवन निर्माण, मेडिकल कलेज स्थापना लगायतका योजनाहरुलाई समेटिएको छ ।

एमाले उपाध्यक्ष पौडेलले बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने बताउनुभएको छ ।

उपाध्यक्ष पौडेलले बृहत् लुम्बिनी क्षेत्र अन्तर्गतका शहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोड्ने र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने बताउनु भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने जनाउँदै प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक ६ लेन सडकमा स्तरोन्नति गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य उम्मेदवार लिला गिरी र भोजप्रसाद श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्व गृहमन्त्री निरन्जन थापा, समानुपातिक उम्मेदवार एवं प्रदेश अध्यक्ष प्रदीपकुमार उदय, मृगेन्द्रकुमार शेरचन, एमाले रुपन्देही २ निर्वाचन परिचालन कमिटी अध्यक्ष नेत्र पन्थी, क्षेत्रीय संयोजक बाबुराम पन्थी, नेता गोपाल राना, जसपाका समानुपातिक उम्मेदवार मनिकर कार्की, एमालेका एजाज आलम लगायत नेताहरुले संयुक्त रुपमा प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।

प्रतिवद्धतामा प्रतिवद्धतापत्रमा एकीकृत विकास र रुपान्तरणकारी पूर्वाधार सहितको बृहत् लुम्बिनी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, आवास तथा भूमि व्यवस्था, युवा उद्यमशीलता, श्रम तथा रोजगारी, पर्यटन, कला र संस्कृति, कृषि र सिँचाइ, सडक, खानेपानी, विद्युत तथा आधारभूत पूर्वाधार, युवा तथा खेलकुद, महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित एवं उत्पीडित वर्ग र सामाजिक सुरक्षा, सूचना, प्रविधि र सञ्चार, सुशासन र सेवाप्रवाह जस्ता विषयमा विषयगत प्रतिवद्धता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*