मतदातामाझ घनश्यामका ‘तीन बाचा’ : इमानदारीता, संविधानको रक्षा र क्षेत्रको विकास
रुपन्देही । रुपन्देही क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल घरदैलो कार्यक्रममा व्यस्त छन् । मतदाता भेटघाटको क्रममा भुसालले आफ्नो त्रिभुज चुनाव चिन्हमा मत मागेसँगै मतदाताहरुसंग तीनवटा बाचा गर्ने गरेका छन् ।
भुसाल आफ्ना तीनवटा बाचामध्य पहिलो बाचा इमान्दारिता अर्थात् भ्रष्टाचारको अन्त्य हो भन्ने गरेका छन् । उनी भन्छन्, ‘जनताले उपभोग गर्ने हरेक कुरामा कर लाग्ने गर्छ । जनताले तिरेको कर राज्यको ढुकुटी हो र त्यो ढुकुटी कहाँ खर्च गर्ने र कहाँ नगर्ने यही चुनावले निर्धारण गर्ने गर्छ । म मेरो राज्यको ढुकुटी निजी लाभको लागी, निजी फाइदाकालागि कुनै पनि हिसावले दुरुपयोग गर्दिन । उनी थप्छन्, ‘इमान जनप्रतिनिधीमा चाहिन्छ र त्यो इमान हामीले राख्छौ ।’
उनीले आफुले आजसम्म राज्यको ढुकुटी, पैसा र सार्वजनिक सम्पत्ति नाजायज तरिकाले नखाएको र अव पनि नखाने कुरामा प्रतिबद्ध रहेको बताउने गरेका छन् ।
मतदाता समक्ष भुसालको दोस्रो वाचा हो – ‘संविधानको रक्षा । भुसाल भन्छन्, ‘राज्यभित्र सरकार, सरकारी निकाय, अड्डा अदालत सबै संयन्त्र हुन्छ । जसको ब्यवस्था गर्ने संविधान हुन्छ र त्यो यताउता भयो संविधान बिग्रियो भने सबैकुरामा भाडभैलो शुरु हुन्छ । हामी आफै आफैमा लड्छौ र मुलुक बर्बाद हुन्छ । संविधान, कानुन र लोकतन्त्रको रक्षा गर्नु जनप्रतिनिधीकै काम हो ।’ उनले आफु हिजो पनि संविधानको रक्षाकोलागि पनि लडेको र भोलि पनि संविधान र परिवर्तनले संस्थागत गरेको व्यवस्थाको रक्षाकोलागि लड्ने प्रण उनले मतदातामाझ गरेका छन् ।
त्यसैगरी भुसालको तेस्रो वाचा हो- ‘क्षेत्रको विकासु। यस क्षेत्रका पालिका, पार्टी, आमासमुह, क्लबहरू, बुद्दिजिवी, उद्योगपती, व्यवसायी, किसान, मजदुर सबैलाई मिलाएर लिएर जान सकियो भने र यसक्षेत्रमा आउने स्रोतसाधनहरुको राम्ररी प्रयोग गर्न सकियो भने र आवश्यक पर्ने स्रोत साधन ल्याउन सकियो भने क्षेत्रको समग्र विकास संभव छ हुने भुसालको ठहर छ । उनी भन्छन्, ‘विकास कार्यलाई बजेटको अभाव हुन दिनेछैन, आवश्यक्ताका आधारमा सबै विकास निर्माणको काम क्रमैसंग हुँदै जानेछ । अधुरा योजनाहरु पुरा गर्ने र नयाँ योजनाहरु विद्यालय, स्वास्थ चौकी, सडक पुर्वाधार, खानेपानी, सिंचाई लगायत प्राथमिकताका आधारमा आवश्यक स्रोत साधन ल्याउने छौं ।’
यसरी त्रिभुज चिन्हसंगै तीनवटा बाचा लिएर मतदातामाझ पुगेका भुसाल उत्साहित देखिन्छन् । उनको घरदैलोको रिपोर्टिङ गर्न पुगेका संचारकर्मीसंग कुरा गर्दै उनले मतदाताको सुझाव संकलनसंगै आफ्ना भनाइ राख्दै र बुझाउँदै अगाडि बढिरहेको प्रतिक्रिया दिए । कस्तो छ माहोल ? निर्वाचन जितिन्छ त भन्ने संचारकर्मीको जिज्ञासामा उनी भन्छन्, निर्वाचन त जितिसकिएको छ तर हाम्रो काम निर्वाचनमा भोट संकलन गर्ने मात्रै होइन । यो त एउटा अभियान हो । निर्वाचन जितेपछि म यसैगरी नागरिकसंग एकाकार भएर यहि क्षेत्रको विकासमा योगदान पुर्याउनेछु ।’
सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकता : यादव
त्यसैगरी रुपन्देही १९१० बाट प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका बिश्वनाथ यादवले आफू निर्वाचित भएपछि सबैभन्दा पहिला सुकुम्बासी समस्या समाधानलाई प्राथमिकता दिने बताएका छन् ।
मंगलबार मतदातासङ्ग कुरा गर्दै नेता यादवले आफ्नो क्षेत्रमा सुकुम्बासी समस्या मुख्य समस्याको रुपमा रहेको बताउदै प्रदेश सभा सदस्यमा निर्वाचित हुन साथ सुकुम्बासी समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।
यसअघि गठबन्धनको सरकारले : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गरिसकेको र बाँकी रहेका कामलाई आफू निर्वाचित भएर गएपछि निरन्तरता दिने यादवले मतदाता सङ्ग प्रतिबद्धता जनाए। घरदैलो अभियान अन्तर्गत आज ओमसतियाको १,३ र ४ वडामा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक हिरा बहादुर खत्रीले बताए।
रोकिएको विकास निर्माणका अधुरा कार्य पुरा गर्छुस् रज्जाक
रुपन्देही १ (२) का उम्मेदवार अब्दुल रज्जाकले रोकिएको विकास निर्माणका अधुरो कार्य पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै नेता रज्जाकले वि. सं. २०७० मा आफू निर्वाचित भए पछि थुप्रै विकास निर्माणका योजनाहरुको सुरुवात गरेको बताए। ‘धेरै योजनाहरु सम्पन्न गरिएता पनि कतिपय भौतिक संरचनाका कुराहरु अझै पूरा भएका छैनन्’ तसर्थ निर्वाचित भए पछिको पहिलो प्राथमिकता अधुरो विकास निर्माणकार्य पूरा गर्नेछुु रज्जाकले भने ।
घरदैलो अभियान अन्तर्गत आज ओमसतियाको १,३ र ४ वडामा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको संयुक्त निर्वाचन परिचालन कमिटीका सह संयोजक लेखनाथ न्यौपानेले बताए।





















