हरैया बसपार्कलाई व्यवस्थित बनाउने एमालेको प्रतिबद्धता
कञ्चन। रूपन्देहीको कञ्चनगाउँपालिका वडा नं. ३ स्थित हरैया बसपार्कलाई व्यवस्थित बनाइने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा नेकपा एमालेले जारी गरेको प्रतिबद्धता पत्रमा हरैया बसपार्कको स्तरोन्नती गर्ने विषयलाई समेटिएको छ ।
बसपार्कलाई अत्याधुनिक सुविधा सम्पन्न व्यवस्थित बनाइने एमालेको तर्फबाट क्षेत्र नं. ५ (क) का प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले बताए । बसपार्क निर्माणले यस क्षेत्रको विकासमा टेवापुग्ने उनको भनाइ छ । उनले भने, ‘बसपार्कले शहरीकरण हुँदै गरेको यस क्षेत्रको विकासमा टेवा पुर्याउने छ । यातायातका साधनको व्यवस्थापन हुनेछ ।’
हरैयाबाट नियमित रुपमा बुटवल, भैरहवा, लुम्बिनी, पोखरा, काठमाडौ लगाएत मुख्य शहरहरूमा बस सञ्चालनमा छन् । यस क्षेत्रलाई व्यवस्थित तथा योजनावद्ध रूपमा विकास गर्नका लागि विस्तृत सडक गुरूयोजना समेत तयार गरिने एमाले उम्मेदवारहरुको भनाइ छ । कञ्चन गाउँपालिकाका पूर्वअध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले आफ्नो कार्यकालमा सामान्य पूर्वाधार निर्माण गरीबसपार्क सञ्चालन गरिएको बताउँदै बसपार्कलाई आधुनिक बनाइनु पर्ने र त्यो कामएमालेबाट मात्र सम्भव रहेको बताए । बसपार्कको डिपिआर तयार गरिएको छ ।
आसन्न निर्वाचनमा एमालेले राजपा र राप्रपा सँग तालमेल गरेर प्रतिनिधिसभा सदस्यमा बासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा भूमिश्वर ढकाल तथा रामचन्द्र यादवलाई उम्मेदवार बनाएको छ ।





















