कांग्रेस संसदीय दलको नेतामा देउवा र थापाको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यससँगै संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रम अनुसार बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएको छ । सोमबारदेखि नै सुरु भएको निर्वाचन प्रक्रिया अनुसार आज तोकिएको मनोनयनको समयभित्र देउवा र थापाको उम्मेदवारी परेको हो ।
थापाको समर्थकमा भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्व प्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहनु भएको छ । प्रस्तावकमा भने डा शेखर कोइराला रहुनभएको छ । मंगलबार बसेको इतर पक्षको बैठकले गगन थापालाई संसदीय दलको साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यसैगरी सभापति देउवाको प्रस्तावकमा नेता रामचन्द्र पौडेल र समर्थकमा पूर्णबहादुर खड्का रहनुभएको छ ।





















