लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशन सोमबार देखि सुरु

खबरपथ संवाददाता
१९ पुष २०७९, मंगलवार ०६:५२

देउखुरी । लुम्बिनी प्रदेशसभा दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबार देखि सुरु भएको छ । सोमबारदेखि सुरु भएको अधिवेशनको पहिलो दिन बैठकको अध्यक्षता गरेका प्रदेश सभाका जेष्ठ सदस्य डिल्लीराज भुसालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको बैठक आह्वान सम्बन्धी पत्र बारे जानकारी गराउनुभएको थियो ।

बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख अमिक शेचरनले प्रदेशसभाको पहिलो कार्यकाल सफलतापूर्वक सकिएको बताउदै आगामी कार्यकाल पनि सफल हुने विश्वास ब्यक्त गरे गर्नुभयो।
प्रमुख शेरचनले सरकारले राजधानी व्यवस्थापन गर्नेदेखि विपन्न र असहाय जनताका लागि सरकारले दिने उपचार खर्च र राहत रकम बृद्धि गरेर जनमुखी काम गरेको उल्लेख गर्नुभयो ।
बैठकमा प्रदेशसभामा निर्वाचित भएका दलहरुले शुभकामना व्यक्त गर्दै अबको ५ वर्षको कार्यकाल पनि उत्कृष्ट बनाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले प्रदेशसभाको पहिलो कार्यकाल बुटवलमा बितेको र त्यसमा संरचनाविहीन अवस्थाको प्रदेशलाई स्थापित गर्न स्थानीय संघ संस्थाले गरेको सहयोगको गर्नुभयो । उहाँले बुटवलका संघसंस्थाले आफ्नो कार्यालय र भवन सरकारलाई उपलब्ध गराएर संघीयता कार्यान्वयनका लागि गरेको सहयोग प्रदेशसभाले कहिल्यै भुल्न नहुने बताउनुभयो ।

बैठकमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पहिलो कार्यकाल व्यवस्थापन र कानुन निर्माणमै सकिएको भन्दै दोस्रो कार्यकाल संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्र संसदीय दलका नेता जोख बहादुर महराले दोस्रो कार्यकालको प्रदेशसभा उच्च राजनीतिक संस्कारका साथ जनताका आशा, अपेक्षा पुरा गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा राप्रपाका आशिष कुमार चौधरी, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाका सन्तोषकुमार पाण्डेय, जनमतका चन्द्रकेश गुप्ता, जसपाका भण्डारीलाल अहिर, नेकपा एकिकृत समाजवादीकी भगवती अधिकारी र राष्ट्रिय जनमोर्चाका तारा थापाले प्रदेशसभाको दोस्रो कार्यकालले प्रदेशसभा प्रतिको वितृष्णा अन्त्य गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सोमबार नै बसेको प्रदेशसभाको दोस्रो बैठकले ‘लुम्बिनी प्रदेशसभा नियमावली २०७९’ पारित गरेको छ ।
प्रदेशसभाको अर्को बैठक माघ ३ गते बस्ने जेष्ठ सदस्य भुसालले बताउनुभयो ।
लुम्बिनी प्रदेशसभामा १० दलको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*