लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले प्राप्त गरे विश्वासको मत
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
विहीबार बसेको प्रदेशसभाको चोथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री गिरीको पक्षमा ५७ मत र विपक्षमा २८ मत परेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेकपा गठवन्धनकाे तर्फबाट मुख्यमन्त्री नियुक्त हुनुभएका नेकपा एमाले संसदीय दलका नेता गिरीलाई नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी ५७ जना प्रदेश सभा सदस्यले मत दिएका छन् । नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका २८ जना सांसदले गिरीको विपक्षमा मतदान गरेका छन् ।
लुम्बिनी प्रदेश सभामा ८७ जना प्रदेश सभा सदस्य रहेका छन् । गिरी गएको पुस २७ गते ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।





















