प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

खबरपथ संवाददाता
५ चैत्र २०७९, आईतवार १३:२७

काठमाण्डौं । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको महामन्त्री विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

कांग्रेसले संविधान रक्षा, स्थिरता, शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने, विकास निर्माण र समृद्धिलाई केन्द्रमा राखेर प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गर्नु भएको छ । नेकपा एमाले, राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट पनि हटेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नु भएको हो ।

बैठकले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएकोमा बधाई दिने निर्णय समेत गरेको छ। साथै क्रिकेटमा युएईलाई हराउँदै नेपाल विश्वकप छनोट खेलमा प्रवेश गरेकोमा नेपाली खेलाडीलाई बधाई समेत कांग्रेसले दिएको छ ।

कांग्रेसले गत पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए पनि प्रमुख प्रतिपक्षमा बस्दै आएको थियो। सरकारमा जाने निर्णय गरेसँगै आजदेखि कांग्रेस सत्तापक्ष बेन्चमा बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*