तिलोत्तमा गोल्ड कप : थ्री स्टार सेमिफाइनलमा प्रवेश

खबरपथ संवाददाता
५ चैत्र २०७९, आईतवार २१:०५

बुटवल । बुटवल ११ देबिनगरस्थित एन्फा एकेडेमी खेल मैदानमा जारी २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको आइतबारको खेलमा थ्री स्टार फुटबल क्लबले जित दर्ता गर्दै  सेमिफाइनलमा प्रवेश गरेको छ ।  थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको हो ।

थ्री स्टारका लागि जर्सी नम्बर १८ का दिपेश गुरुङले दोस्रो हाफको ३८ औं मिनेटमा गरेको उत्कृष्ट गोल नै निर्णायक बन्यो । उनलाई गोलका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका मिन धिमालले उत्कृष्ट बल पास गर्दै अवसर प्रदान गरेका थिए । खेलको पहिलो हाफमा दुबै टिमबाट गोल रहित बराबरी रहेको थियो । पहिलो हाफमा थ्री स्टारमाथि हाबी बनेको हिमालयन शेर्पाले आधा दर्जन बढी गोलको मौका सिर्जना गर्न सके पनि बललाई जालिमा चुमाउन सकेन ।

दोस्रो आफमा भने थ्री स्टार लयमा फर्किँदै हिमालयन शेर्पामाथि हावि बनेको थियो । खेलको अन्तिम मिनेटसम्म गोलका लागि दुबैतर्फका खेलाडीहरुले अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । प्रतियोगितमा थ्री स्टारका लकिन लिम्बु म्यान अफ दी म्याच घोषित भए । आजको जितसँगै थ्रीस्टारले शनिबारको विजेता सुदूरपश्चिम–११ सँग सेमिफाइनलको भेट पक्का गरेको छ । सुदूरपश्चिमले रुपन्देही–११ लाई शनिबार ३–१ को गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

भोलि सोमबारको खेल विभागीय टोली नेपाल शसस्त्र प्रहरी (एपीएफ) र फ्रेण्ड्स क्लब बीच दिउसो साढे ३ बजे हुनेछ । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*