पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह

खबरपथ संवाददाता
१७ चैत्र २०७९, शुक्रबार २१:५८

रुपन्देही । सञ्चारमन्त्री रेखा शर्माले पत्रकारिताको भूमिका परिवर्तन गर्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलन – २०७९ को उद्घाटन गर्दै मन्त्री शर्माले मुलुकको परिवर्तन, संविधान निर्माण लगायत सबै आन्दोलनहरुमा पत्रकारिताको छुट्टै भूमिका रहेको बताउँदै उहाँले अबको भूमिका फरक हुनुपर्ने उल्लेख गर्नुभयो ।

लामो समयसम्मको प्रयासमा पनि कानून बन्न नदिने र बनेका कानूनहरु पनि कार्यान्वयन हुन नदिने अवस्थाका बारेमा मिडियाले आवाज उठाउन आवश्यक रहेको उहाँको भनाई थियो ।

मिडिया तथा पत्रकारिता क्षत्रमा सरकारले गर्नुपर्ने कुराहरु के के हुन्, महिलालाई कसरी नेतृत्वमा ल्याउन सकिन्छ, गहन छलफल गरेर सुझाव दिन पनि उहाँले आग्रह गर्नुभयो ।

यसैगरी मन्त्री शर्माले पत्रकारहरुको न्युनतम पारिश्रमिकको कार्यान्वयनका विषयमा सम्मेलनमा गम्भीर भएर छलफल गर्न सुझाब दिनुभयो । न्युनतम पारिश्रमिक निर्धारण गरेर मात्रै नहुने बताउँदै मन्त्री शर्माले त्यसको कार्यान्वयनलाई जोड दिनुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासंघले सञ्चालन गर्ने अभियानलाई यो सम्मेलनले दिशा निर्देश गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

कार्यक्रममा महासंघका सल्लाहकाहरु महेन्द्र विष्ट, गोविन्द आचार्य, निर्मला शर्मा, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलकराम आचार्य, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा (जुगल), समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी, नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष वसन्त गिरी, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले महासंघले अगाडि सारेको सदस्यता शुद्वीकरणलाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको थियो ।

राष्ट्रिय मिडिया सम्मेलनमा सदस्यता शुद्धिकरण, पत्रकारका समस्या र मिडियामा देखिएको आर्थिक संकट तथा पत्रकारितासँग सम्बन्धित कानुनका विषयमा प्यानलवाईज छलफल गरिने महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो । सम्मेलनमा १४० शाखाका अध्यक्ष, प्रदेश समितिका अध्यक्ष र महासचिव, केन्द्रीय समिति तथा सल्लाहकारहरु, मिडिया क्षेत्रका विज्ञ, प्रतिनीधिमूलक रुपमा मिडियाका लगानीकर्ता र सरकारी निकायका प्रतिनिधिहरु गरी २५० जना भन्दा बढीको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*