अव्यवस्थित बसोबासीलाई दिइने लालपूर्जाको राजस्व पुनरावलोकन गर्न माग

खबरपथ संवाददाता
१९ चैत्र २०७९, आईतवार २१:१९

काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले अव्यवस्थित बसोबासीलाई प्रदान गरिने जग्गाको राजस्वमा पुनरावलोकन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उहाँले हाल निर्धारण गरिएको राजस्व अव्यवहारिक रहेको बताउनुभयो । वर्षौदेखि जोतभोग गर्दै आएको जमिनको पूर्जा लिन चर्को राजस्व तिर्नुपर्दा नागरिकलाई जग्गा किनेसरह भएको उहाँको भनाइ छ ।

राष्ट्रिय भूमि आयोगले पूर्जा वितरण कार्य गर्नु खुशीको कुरा भए पनि राजस्वको दररेट बढी हुँदा नागरिक अन्यौलमा परेको बताउँदै प्रतिनिधिसभा सदस्य घिमिरेले दश वर्षसम्म किनबेच गर्न पनि नपाउने र राजस्व पनि अत्याधिक भुक्तान गर्नुपर्ने कारणले भूमि आयोगले पूर्जा लिन सूचना गर्दा समेत नागरिक नगएको पाइएको उल्लेख गर्नुभयो ।

‘नागरिक आफैले ४०÷५० वर्षदेखि जोतभोग गर्दै आएको जमिन सरकारलाई चर्को राजस्व भुक्तान गरी खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’ संसद बैठकमा उहाँले भन्नुभयो, ‘दश वर्षसम्म किनबेच गर्न पनि नपाउने र राजस्व पनि अत्याधिक भुक्तान गर्नुपर्ने कारणले भूमि आयोगले पूर्जा लिन सूचना गर्दा समेत नागरिक नगएको परिस्थिति निर्माण भएको हुँदा तत्काल राजस्व पुनरावलोकन गरी सहज ढंगले अव्यवस्थित बसोबासी तथा भूमिहीनहरुलाई पूर्जा वितरण कार्य गर्न सभामुखमार्फत् सरकारसँग माग गर्दछु ।’ उहाँले कतिपय ठाउँमा तोकिएको राजस्व बजार मूल्यभन्दा पनि बढी रहेको जनगुनासो आएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*