
थप उपचारका लागि दिल्ली लगियो राष्ट्रपति पौडेललाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ । बुधबार बिहान राष्ट्रपति पौडेललाई श्री एयरको विमान मार्फत भारत लागिएको हो । उहाँको उपचार नयाँदिल्लीको एम्स अस्पतालमा हुनेछ ।
यस अघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको थियो । त्यसको फलोअपका लागि उहाँ सोमबार पुनः अस्पताल पुग्नु भएको थियो । त्यहाँ उहाँको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो । इन्फेक्सन नघटेको पाइएपछि उहाँलाई भारत लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका थिए ।
राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन् ।