तिलोत्तमामा निजी लगानीमा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला निर्माण सुरु

खबरपथ संवाददाता
३० जेष्ठ २०८०, मंगलवार १३:३९

बुटवल । रुपन्देहीको तिलोत्तमामा निजि लगानीमा २५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु भएको छ । तिलोत्तमा वडा नंं १७ पुर्ब दरखसवामा पौने ५ बिघा क्षेत्रफलमा रंगशाला बन्न लागेको हो । यो निजि लगानीमा बन्ने नेपालको पहिलो ठूलो क्रिकेट रंगशाला हुनेछ ।

एक्स्ट्राटेक ओभल नामाकरण गरिएको रंगशालाको सोमबार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिलान्यास गरेका हुन् ।

९ बर्षदेखि अस्ट्रेलियामा सूचना प्रबिधि क्षेत्रको ब्यबसाय गर्दै आएका बिनोद कुँवर र सुदिच्छा गौतमको लगानीमा बन्ने रंगशाला पहिलो बर्ष ५ हजार दर्शक क्षमताको हुने र हरेक बर्ष ५ हजार क्षमता थप्दै ४ बर्षमा २५ हजार क्षमताको बनाउने लक्ष्य छ । यो क्रिकेट रंगशाला होस्टेल, एकेडेमी र तालिम केन्द्र सहितको हुने एक्स्ट्राटेक ओभल प्रालिका प्रबन्द निर्देशक बिनोद कुंवरले बताए । आफु क्रिकेटको पारखी भएकाले यो खेलको विकासमा निजी क्षेत्रबाट योगदान गर्ने उद्देश्यले रंगशालामा लगानी गरेको बताए ।

चार तलाको भवन सहितको रंगशालामा एकेडेमी र तालीम केन्द्र संचालनका लागि पुर्ब राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई जिम्मेवारी दिइएको एक्स्ट्राटेक ओभल प्रालिका चिफ अप्रेटिङ अफिसर सुदिच्छा गौतमले बताइन् । एक बर्षमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी रंगशालामा ८ सय ट्रक माटो हालेर जग्गा सम्माउने काम भैसकेको बिनोद कुंवरले बताए ।

रंगशाला चार वर्षमा पूरा हुने उनले बताए । सो अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले रुपन्देही जिल्ला क्रिकेटको उर्बरभूमि भएको र अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशाला बनेपछि खेलाडी उत्पादन र प्रतियोगिता आयोजना मात्र नभई खेल पर्यटनमार्फत समग्र नगरको विकासमा योगदान पुग्ने बताए ।

उनले निजी क्षेत्रबाट लगानी भएपनि यो नगरकै गौरवको आयोजना हुने बताए ।

नेपाल क्रिकेट संघ क्यानका सचिव प्रशान्तविक्रम मल्ल,नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य दिर्घबहादुर केसी लगायतले यो रंगशाला बनेपछि रुपन्देहीले क्रिकेटमा फड्को मार्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*