एक्स्ट्राटेक लेजेन्ड कपको उपाधि २०१४ विश्वकप टोलीलाई

खबरपथ संवाददाता
२९ फाल्गुन २०८०, मंगलवार १४:१६

बुटवल । रूपन्देहीको तिलोत्तमामा आयाेजित एक्स्ट्राटेक लिजेन्ड टी-१० कप टी-१० क्रिकेट प्रतियोगिताको उपाधि २०१४ विश्वकप लिजेन्ड्सले हात पारेको छ ।

फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै २०१४ टोलीले उपाधि हात पारेको हो ।

२०१४ टोलीले दिएको १०२ रनको विशाल लक्ष्य पछ्याएको रेस्ट अफ नेपाल टोली १० ओभरमा ९ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । रेस्ट अफ नेपालका लागि लाक्पा लामा १० बलमा २० रन बनाएर अविजित रहे ।

यस्तै युनिल श्रेष्ठले १२ बलमा १८ रन बनाए । ओपनर सिता राना मगरले १४ बलमा १२ रन जोडिन् । अन्य व्याटर भने चल्न सकेनन् ।

२०१४ टोलीका लागि साम्सन जंग थापाले ४ विकेट लिए भने शक्ति गौचन र बद्री पंगेनीले समान २-२ विकेट लिए । दिपेन लाम्गादेले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको २०१४ विश्वकप लिजेन्ड्सले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १०१ रनको विशाल योगफल खडा गर्यो । २०१४ टोलीका लागि कप्तान पारस खड्काले विष्फोटक इनिङ खेल्दै १२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ३९ रन बनाए । यस्तै ओपनर वीरेन्द्र शाहले १८ बलमा २९ रन बनाए । प्रफुल्ल वैद्यले १३ तथा दिपेन लाम्गादेले ९ रन जोडे ।

रेस्ट अफ नेपालका लागि लाक्पा लामा एक्लैले ४ विकेट लिए । उनले अन्तिम ओभरमा ४ विकेट लिएका थिए । यस्तै राजकुमार प्रधान र दीपेन्द्र चौधरीले समान १-१ विकेट लिए ।

रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने २०१४ टोलीले १९९६ लिजेन्ड्सलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली सहभागी रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*