बुटवलको सुप्रिम सहकारी पीडितहरुद्धारा रकम हिनामिना गर्नेलाई पक्राउ गर्न माग

खबरपथ संवाददाता
३० चैत्र २०८०, शुक्रबार २१:४९

बुटवल। बुटवलको सुप्रिम सहकारीका पीडितहरुले रकम हिनामिना गर्ने मुख्य नाईके सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) र व्यवस्थापक सागर केसीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।
पीडितहरुले बिहीवार बुटवलमा पत्रकार सम्मेलन गरि जीबी र केसिलाई पक्राउ गरेर रकम फिर्ताको वातावरण नबनाए वैशाख ४ गतेदेखि सडक आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

सहकारीका मुख्य व्यक्ति पक्राउ परे पनि राजनीतिक दल र सरकारको पहुँचमा रहेकालाई उम्काउने प्रयास हुनसक्ने भन्दै अध्यक्ष राई र बुटवल शाखा व्यवस्थापक सागर केसीलाई यथाशीघ्र पक्राउ गर्न गृहमन्त्री लामिछानेसँग माग गरे ।

सुप्रिम पिडित संघर्ष समितिका संयोजक बिजय कुमार नेपालले प्रहरीले अनुसन्धान भइरहेको मात्र भन्ने गरेको तर नेपालमै रहेका व्यक्तिलाई पक्राउ नगर्नुले उनिहरूलाई राजनीतिक संरक्षण रहेको सहजै अनुमान गर्न सकिने बताए । घटनामा संलग्न रहेको आराेप लागेका ब्यक्तिलाई पक्राउ गरि अनुसन्धानको दायरामा नल्याएकाले पीडितले न्याय पाउने आशा मरेको उनले बताए । ‘गोर्खा मिडिया र ग्यालेक्सी टेलिभिजनको प्रमुख रहेका रवि लामिछाने अहिले गृहमन्त्री हुनुहुन्छ,’ उनले भने, ‘तर, त्यही गोर्खा मिडिया नेटवर्कलाई करोडौं रकम दिने सागर केसी नेपालमै हुँदा पनि किन पक्राउ परेनन्, आकाशमा भए पनि पातालमा भए पनि जीबी राई पक्राउ पर्छन् भनेको महिनाबित्दा पनि खोई पक्राउ गरेको ।’

पीडित प्रेम घिमिरेले प्रतिपक्षमा हुँदा सहकारी पीडितको विषयमा चर्को आवाज उठाउने गरेका लामिछाने सरकारमा गएपछि बोल्नै छोडेकाले उनको संलग्नताकै कारण सहकारीको आवाज मत्थर पार्न खोजिएको दाबी गरे । उनले पक्राउ परेकालाई पनि मुद्दा कमजोर बनाएर छोड्ने प्रयास भइरहेको आशंका बढेको बताए । राजनीतिक शक्तिका आडमा सहकारीको रकम अपचलन गर्नेलाई छोड्ने र पीडितलाई सडकमा आउन बाध्य पार्ने चिन्ता बढेको उनको आशंका छ ।

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका १० हजार ३ सय ९१ बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको अनुसन्धानले देखाएको छ । सहकारीले १ अर्ब ७ करोड रकम सर्वसाधारणबाट संकलन गरेको लुम्बिनी प्रदेशको सहकारी दर्ता अधिकारीको कार्यालयले तयार गरेको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले बचतकर्ताको उजुरी र सहकारी प्रतिवेदनका आधारमा सहकारी ठगी प्रकरणमा अहिलेसम्म तीन जना व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले गत फागुन ४ गते सहकारीका वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई पनि पक्राउ गरेको थियो ।

त्यस्तै सहकारीको संचालक र कर्मचारीको रुपमा रहेका कुमार रम्तेल र सहकारीको आईटी प्रमुख भविश्वर अर्याललाई पनि पोखराबाट बुटवल ल्याएर अनुसन्धान गरिरहेको छ । अहिले सुप्रिम सहकारीको सचिव रहेका रम्तेल र अर्याल पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा थिए । झण्डै एक महिनाअघि पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनका छोरा पनि सहकारी ठगीमै पक्राउ परेका थिए । उनी पनि बुटवल प्रहरी हिरासतमै छन् । पुन सुप्रिम सहकारीका पूर्वसचिव हुन् ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले अदालतले पक्राउ परेका ३ र पोखराबाट अनुसन्धानका क्रममा ल्याइएका दुई गरी ५ जनासहित धेरै जनाविरुद्ध संगठित अपराधअन्तर्गत मुद्दा पेस हुने तयारीमा रहेको बताए ।

सुप्रिम सहकारीका संस्थापक अध्यक्ष तथा अहिले संरक्षक रहेका जीबी राई र उनी संलग्न विभिन्न पाँचवटा कम्पनीलाई सहकारीका व्यवस्थापक केसीकै एकल निर्णयमा मात्र ७८ करोड ५० लाख ७६ हजार ६ सय ६५ रुपैयाँ ऋण दिइएको छ । राईले आफू अध्यक्ष रहेकै बखत आफ्ना विभिन्न चारवटा कम्पनीका नाममा १३ करोड ७० लाख ९२ हजार २ सय ७० रुपैयाँ ऋण लगेका थिए । राईले २०७६ कात्तिक १६ गते अध्यक्षबाट राजीनामा दिएर संरक्षक बनेका थिए । उनी अहिले फरार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*