नयाँ समीकरण बनाउने चर्चा निराधार हो : नेकपा एस

खबरपथ संवाददाता
२४ बैशाख २०८१, सोमबार २०:१५

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीभित्र अन्तरविरोध नभएको बताउँदै नयाँ समीकरण बनाउने चर्चा पनि निराधार रहेको जनाएको छ। जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन गर्दै वर्तमान सत्ता समीकरणप्रति प्रतिबद्ध भएको जनाएको हो।

नेकपा एसको सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सरकारका कतिपय काम कामप्रति असन्तुष्टि भए पनि वैकल्पिक समीमकरण बनाउने खोजेको भन्दै गलत प्रचार गरिएको बताए।

‘म, शेरबहादुर देउवा र उपेन्द्र यादवबीच वैकल्पिक समीकरण बनाउनेबारे छलफल नै भएको छैन। अर्को समीकरण बनाउन खोजेको भन्ने हल्ला गलत हो,’ उनले भने, ‘सत्तारुढ दलमा समस्या भए छलफल गरेर समाधान गरिनुपर्छ। यो समीकरणको विकल्पमा जाने होइन, बरु उत्पन्न समस्या छलफलबाट समाधान गरेर जानुपर्छ।

संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकपछि जारी विज्ञप्तिमा संसदीय दलमा कुनै समस्या नभएको बताएका छन्। ‘यस बीचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*