मकवानपुरका १६ विद्यालयमा एसईई नतिजा शून्य

खबरपथ संवाददाता
१७ असार २०८१, आईतवार १२:५४

बसन्त भण्डारी, हेटौँडा | मकवानपुर जिल्लाको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चिन्ताजनक स्थिति देखिएको छ। जिल्लाका १६ वटा विद्यालयहरूमा एसईई नतिजा शून्य रहेको छ, जसमध्ये अधिकांश ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरू रहेका छन्।

विशेष गरी, कैलाश गाउँपालिकाको स्थिति गम्भीर देखिएको छ। यहाँका एक सय ९९ विद्यार्थीमध्ये केवल ११ जना मात्र उत्तीर्ण भएका छन्। कालीदेवी माविर र रत्न ज्योती माविमा त एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।

जिल्लाका ९ वटा पालिकाका १५ वटा सामुदायिक माध्यमिक विद्यालय र हेटौंडा उपमहानगरपालिकाको एक संस्थागत विद्यालयको नतिजा शून्य आएको छ। यस्तो परिणामले ग्रामीण क्षेत्रमा संचालित ११ कक्षाको पढाईमा समेत असर पर्ने देखिएको छ।

समग्रमा, मकवानपुर जिल्लाबाट एसईईमा सहभागी ५,७५२ परीक्षार्थीमध्ये २,०९८ जना (३६.४७ प्रतिशत) मात्र ११ कक्षा भर्ना हुन योग्य भएका छन्। यो तथ्यांकले जिल्लाको शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्ने आवश्यकता रहेको देखाउँछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*