‘डेढ खर्बको खाद्यान्न आयात गरेर मुलुक समृद्ध हुन सक्दैन’ : कृषि मन्त्री खनाल
२२ चैत, बुटवल । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले डेढ खर्बको खाद्यान्न आयात गरेर मुलुक समृद्ध हुन नसक्ने बताएका छन । मुलुकमा समृद्धि ल्याउन कृषिमा आत्मनिर्भरता बढाउनुपर्ने उनको भनाई छ ।
शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रममा मन्त्री खनालले ब्युरोक्रेसी र अति न्यून वजेटका कारण कृषिमा प्रगति हुन नसकेको जिकिर गरे ।
एक सय ४० अर्बको खाद्यान्न आयात गरेर मुलुक समृद्ध बन्न नसक्ने भन्दै मन्त्री खनालले कृषिमा आश्रित जनसंख्या ६५ प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्नुपर्ने र कृषिमा वजेट बढाउनुपर्ने बताए । उनले कृषिमा आधुनिकीकरण गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
कृषिका लागि नेपाल ज्यादै उर्बर भूमि भए पनि उचित व्यवस्थापन हुन नसकेको बताउदै दक्षिण कोरियाको शैलीमा विदेश जाने जनशक्तिको आम्दानीलाई सरकारले नै उत्पादनशील क्षेत्रमा लगानी गर्ने हो भन,े मात्रै कृषिमा फड्को मार्न सकिने उल्लेख गरे ।

विदेशमा ५ प्रतिशत जनसंख्या कृषिमा संलग्न देशले ११ प्रतिशतसम्म वजेट छुट्टाउने गरेको भन्दै मन्त्री खनालले ’ ६५ प्रतिशत जनसंख्यालाई २.९ प्रतिशत वजेट छुट्टयाएर कृषिमा कृषिमा आत्मनिर्भर हुन नसकिने जिकिर गरे ।
नेपालको सन्दर्भमा कफि उत्पादनमा प्रशस्त अबशर रहेको मन्त्री खनालको भनाई थियो । नेपालमा कफी उत्पादन ५ सय मेट्रिक टन रहेको तर माग भने ११ सय टन रहेकाले यसमा अवसर प्रशस्त रहेको उनको भनाई छ ।






















