गौरमा अत्याधुनिक पशु तथा कृषि प्रयोगशालाको शिलान्यास

खबरपथ संवाददाता
२ भाद्र २०८१, आईतवार १२:१३

रौतहट । रौतहटको सदरमुकाम गौरमा आधुनिक पशु तथा कृषी प्रयोगशाला भवन निर्माण सुरु भएको छ। गौरका मेयर शम्भु साहको पहलमा निर्माण सुरु भएको भवनको  शुक्रवार विधिवत रूपमा शिलान्यास गरिएको थियो ।

गौर  १ तरकारी बजार स्थित स्वास्थ्य कार्यालय छेउमै कृषि तथा पशु सेवा केन्द्र भवन निर्माण भईरहेको छ। अगामी २०८२ साल बैशाख मसान्त भित्र भवनको निर्माण कार्य सम्पन्न हुने लक्ष्य रहेको मेयर साहले बताएका छन् । भवन निर्माणपछि स्थानीय स्तरमै माटो परिक्षण, पोखरीको पानी परिक्षण, बिभिन्न प्रकारको विउ, यार्ला तथा फलफुलमा लाग्ने रोग किराको परिक्षण, मलखाद्य परिक्षण हुने छ ।

त्यस्तै पशु प्रयोगशाला तर्फ गोबर परिक्षण, पशुको रगत तथा पिशाव परिक्षण, पशुको अपरेसन, कृत्रिम गर्भाधारण, पशुको अल्ट्रासाउण्ड, एक्स्रे लगायतका सुविधा सम्पन्न प्रयोगशाला निर्माण गरिने मेयर साहले जानकारी दिएका छन।संघिय सरकारको कुल २ करोड,३० लाख ४० हजारको लागतमा निर्माण भईरहेको भवनको ठेक्का सिएम कन्ष्ट्रक्सन जोरपाटी काठमाडौंले लिएको छ।

भवनको भुई तल्लामा कृषि र पशुको दुई वटा ल्याब, पहिलो तल्लामा ५० जना अटाउने सेमिनार हल , दोश्रो तल्लामा गेष्ट हाउस रहने जनाइएको छ। प्रयोगशाला निर्माण पछी स्थानिय किसानहरुका साथै  जिल्लाभरीका किसानलाई सेवा सुविधाहरु उपलब्ध गराउने योजना रहेको गौर नगरपालिकाले जनाएको छ।

गौर नगरपालिकामा मेयरको जिम्मेवारि पाइदेखिनै शम्भु साह जनमुखी काम गर्दै आएका छन्। उनले शिक्षा स्वास्थका साथै भौतिक पूर्वाधार विकासमा पनि जोड दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*