नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको “मानवीय सेवामा हातेमालो अभियान” सुरु

खबरपथ संवाददाता
१२ पुष २०८१, शुक्रबार २२:४१

बुटवल । नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीले “मानवीय सेवामा हातेमालो अभियान” सुरु गरेको छ । भोलि (सनिवार) देखि सुरु हुने यस अभियानले जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकामा रक्तदानका साथै निःशुल्क स्वास्थ्य सेवा   उपलब्ध गराउने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अशेष सिलवालले रगतको अभावलाई कम गर्न र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने हेतुले अभियान संचालन गर्न लागिएको बताउनुभयो । उहाँले “रक्तदान जीवनदान हो” भन्ने नारालाई व्यवहारमा उतार्दै १६०० युनिट रगत संकलन गर्ने महत्त्वाकांक्षी लक्ष्य लिइएको र यसले रगत अभावका कारण समस्या भोगिरहेका बिरामीहरूलाई ठुलो राहत पुग्ने बताउनु भयो ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मानसिक स्वास्थ्य, नसा रोग, रक्तचाप, मधुमेह लगायतका रोगहरूको निःशुल्क परामर्श र उपचार सेवा प्रदान गरिने अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।  साथै, नियमित स्वास्थ्य परीक्षण पनि अभियानको मुख्य अंशका रूपमा रहने बताउनु भयो ।

डावर नेपाल, रेडक्रस, रोटरी क्लब, तथा विभिन्न औषधि कम्पनीहरूको आर्थिक र प्राविधिक सहयोगमा यो अभियान अघि बढिरहेको अध्यक्ष सिलवालले जानकारी दिनुभयो ।

अभियानको पहिलो चरण रोहिणी गाउँपालिकाबाट सुरु भई मायादेवी, कोटहीमाई लगायत अन्य गाउँपालिकाहरूमा विस्तार गरिने केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालले बताउनु भयो। अभियान सञ्चालनका लागि अनुमानित ३० देखि ४० लाख रुपैयाँ खर्च लाग्नेछ, जसलाई सहयोगी संस्थाहरूबाट व्यवस्थापन गरिने सिलवालले बताउनु भयो।

अध्यक्ष सिलवालले भन्नुभयो , “यो अभियानले रक्तदानलाई जनजीवनको संस्कृतिमा रूपान्तरण गर्ने मात्र होइन, रुपन्देहीलाई उदाहरणीय जिल्ला बनाउन महत्वपूर्ण योगदान पुर्याउनेछ।”

पत्रकार सम्मेलनमा नियमित रक्तदाता संघका केन्द्रीय महासचिव दीपक अधिकारी, रुपन्देही शाखाका उपाध्यक्ष भास्कर शाही, संघका प्रेस सल्लाहकार राजेन्द्र जंग रायमाझी लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*