माइती नेपालमा प्रधानमन्त्री, एक करोड सहयोग गर्ने घोषणा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा एक करोड रूपैँया सहयोग गर्ने घोषणा गरेका छन ।
चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहितका पदाधिकारी, आश्रित महिला र बाल बालिकासँगको छलफलपछि सरकारले नै गर्नुपर्ने काममा यस संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा गरेका हुन ।
प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गरेका थिए । नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरेका छन ।
अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले संस्थामा महिलाको उद्धार गरी ल्याइएका महिलाका लागि सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआइभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुुललगाययत स्थल पुगेका थिए । प्रधानमन्त्री ओलीले त्यहाँस्थित प्रभावित महिला, बालबालिका र विद्यार्थीले गौरवबोध गरेको जनाएका थिए ।






















