महर्षि माण्डव्यको तपोभूमि चिनाउन ‘महर्षि माण्डव्य र माडी’ पुस्तक सार्वजनिक
बुटवल। पाल्पा जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा अवस्थित ऐतिहासिक माण्डव्य मन्दिर तथा गुठीले महर्षि माण्डव्य ऋषिको तपोभूमिको ऐतिहासिक महत्व उजागर गर्ने उद्देश्यले ‘महर्षि माण्डव्य र माडी’ नामक पुस्तक सार्वजनिक गरेको छ।
वैशाख २९ गते चण्डी पूर्णिमाको दिन सार्वजनिक गरिएको
उक्त पुस्तकको महाभारत, श्रीमद्भागवत र पद्मपुराण जस्ता धर्मग्रन्थहरूमा वर्णित माण्डव्य ऋषिको तपस्यासँग जोडिएको यस स्थलीय इतिहासलाई जनचेतनामा ल्याउने प्रयासस्वरूप प्रकाशन गरिएको हो।
पुस्तक सीता अधिकारीद्वारा प्रकाशित गरिएको हो। उनले आफ्ना दिवंगत पति श्री तारानाथ अधिकारीले संकलन गरेका पौराणिक तथ्य, ऐतिहासिक सन्दर्भ र अभिलेखलाई पुस्तकमा समेटेकी छन्।
चार खण्डमा विभाजित यो पुस्तकमा पहिलो खण्डमा माण्डव्य ऋषिको जीवन र परिचय, दोस्रो खण्डमा माडी क्षेत्रसँगको सम्बन्ध, तेस्रो खण्डमा इतिहास र पुराणमा माण्डव्य ऋषिबारे उल्लेखित विवरणहरू, र चौथो खण्डमा विभिन्न पत्रपत्रिकामा प्रकाशित आलेख, गोत्रसम्बन्धी चर्चा तथा ज्ञवाली लगायतका गोत्रसम्बन्धी सन्दर्भ समेटिएको छ।
कुल १६० पृष्ठको पुस्तक जिज्ञासु पाठकहरूका लागि निःशुल्क रूपमा उपलब्ध गराइएको गुठीले जनाएको छ।






















