नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना
काठमाडौँ । नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ ।
मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ, ‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो । यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले विशेष रुपमा ब्रह्मचारिणी देवीको विशेष रुपमा पूजाआराधना गर्ने गर्छन् ।
नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजाआराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
वर्षमा चार नवरात्र पर्छन् । त्यसमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रमा विशेष रुपमा शक्ति स्वरुपा देवीको पूजाआराधना गरिन्छ । पुस र असारमा पर्ने नवरात्रमा केही साधकले देवीको आराधना गरे पनि आश्विन चैत्रमा जसरी मनाइँदैन ।






















