हिसाब गर्न बाँकी नै छ : रवि लामिछाने
शुक्रबार कारागारमुक्तपछि बुटवलमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले अन्यायको हिसाब बाँकी नै रहेको बताएका हुन् । उनले भने, ‘यिनीहरू (पुराना दल) ले देशमाथि गरेको अन्यायका अगाडि ममाथि गरेको अन्याय केही पनि होइन । हिसाब बाँकी नै छ । धेरै कुरा भन्न बाँकी छ । बोल्ने समय आउँदैछ ।’
बिहीबार तुलसीपुर उच्च अदालत, बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले सहकारी ठगीसम्बन्धी कसूर र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई सुरु जिल्ला अदालतको गत २६ साउनको आदेश बदर गर्दै थुनामुक्त गर्ने आदेश दिएको थियो ।
नख्खु कारागारमा रहेका उनी शुक्रबार छुटपुर्जी लिन चितवन हुँदै रुपन्देही पुगेका थिए ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेशले पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले उक्त सहकारीबाट रकम प्रवाह भएको बिगोमध्ये दामादाहीले हुने बिगो बैंक ग्यारेन्टी राखी ७१ नम्बरको निवदेनबमोजिम बैंक ग्यारेन्टी लिई मुद्दाको पुर्पक्ष गरी पाउँ भनी निवेदन दिएका थिए । तर, गत २६ साउनमा जिल्ला अदालतले बाहिरै बसेर मुद्दाको पुर्पक्ष गरी पाउँ भन्ने लामिछानेको मागमा न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेको थियो ।
उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालतको आदेशअनुसार सुरु जिल्ला अदालतको गत १३ माघको सुरु थुनछेकको क्रममा माग गरेको धरौटी रकम दफा ६८ अनुसार स्वीकार गर्ने, प्रतिवादीले निवदेनसाथ पेस गरेको बैंक जमानत (ग्यारेन्टी) २ करोड ७४ लाख ८४ हजार बिगोका हकमा सुरक्षित गर्ने, प्रतिवादी व्यक्तिगत वा संस्थागत रुपमा विदेश यात्रा गर्नुपरेमा अदालतलाई पूर्व जानकारी दिनुपर्ने उल्लेख छ।






















