६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ
काठमाडौं । बिहीवार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य हुनेछ । मतदान गर्न जाँदा मतदाताहरुले परिचयपत्र खुल्ने कागजात बोकेर जानुपर्नेछ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएमा विभिन्न ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । उहाँकाअनुसार निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही कागजात प्रयोग गर्नुपर्नेछ । उक्त परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजात साथमा लिएर मतदान गर्न सकिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।





















