सातौ मणिमुकुन्द रनिङशिल्ड भलिबल प्रतियोगिताको च्याम्पियन बन्यो बाग्लुङ

खबरपथ संवाददाता
२३ फाल्गुन २०७६, शुक्रबार २२:१६

बुटवल । जिल्ला भलिवल संघ बाग्लुङ सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । विहिबार भएको फाईनल खेलमा जिल्ला भलिबल संघ स्याङजालाई ३–१ को सोझो सेटमा पराजित गर्दै बाग्लुङ च्याम्पियन बनेको हो । प्रतियोगितामा च्याम्पियन बनेको बाग्लुङले नगद १ लाख २ हजार २ सय २२ रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

उपविजेता स्याङजा नगद ७२ हजार २ सय २२ रुपैया मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । जिल्ला भलिबल संघ रुपन्देहीले नवलपरासीलाई ३–२ को सेटमा पराजित गर्दै तृतिय स्थान हासिल गरेको छ ।

रुपन्देही नगद ४५ हजार ५ सय ५५ रुपैया तथा नवलपरासी सान्त्वना हुदै नगद २५ हजार ५ सय ५५, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । स्याङजाका कमल सुनार उत्कृष्ट ब्लकर, हरि पाण्डे उत्कृष्ट स्पाईकर, रुपन्देहीका जिवन रसाईली उत्कृष्ट डिफेन्स, प्रताप खवास उत्कृष्ट सर्भर, बाग्लुङका मिन सुनार उत्कृष्ट सेटर, स्याङजाका प्रशिक्षक राजेन्द्र शर्मा उत्कृष्ट प्रशिक्षक, रुपन्देहीका आर्दश रसाईली उदयमान खेलाडी घोषित हुदै नगद ३ हजार रुपैया, कप, मेडल तथा बाग्लुङका राजु बिक सर्वोत्कृष्ट खेलाडी र बाग्लुङका कुशमान थापा अनुसासित खेलाडी घोषित हुदै नगद ५–५ हजार रुपैया, कप, मेडलबाट पुरस्कृत भए ।

मणिमुकुन्द भलिबल क्लबको आयोजनामा शंकरनगरस्थित मणिमुकुन्द भलिबल कोर्टमा विहिबार राती भएको फाईनल खेलमा जिल्ला भलिबल संघ बाग्लुङले पहिलो सेट २५–१७ अंकसहित आफनो पक्षमा पार्दै खेलमा अग्रता लिएको थियो । दोस्रो सेट भने स्याङजाले २५–२१ अंकले जित्दै खेलमा बराबरीमा ल्यायो । तेस्रो र चौथौ सेटमा बाग्लुङ आक्रमक खेल पस्कदै लगातार २५–२१, २५–१६ अंकले खेलमा जित निकाल्न सफल भएको थियो ।

एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे, नेपाल भलिबल संघ केन्द्रिय उपाध्यक्ष निरोज मास्के, पश्चिमाञ्चल भलिबल संघका कोषाध्यक्ष हरि कुमार श्रेष्ठ, जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष योग गुरुङ, क्लबका बरिष्ठ सल्लाहकार टुक बहादुर क्षेत्री, सल्लाहकार विष्णु श्रेष्ठ, क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*