पूर्व पोलिटब्युरो सदस्य पुनसहित चार नेताले छाडे विप्लव नेतृत्वको नेकपा

खबरपथ संवाददाता
९ असार २०७९, बिहीबार १२:१६

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार नेताले पार्टी परित्याग गरेका छन् । शुक्रवार एक विज्ञप्ति जारी गर्दै पूर्व पोलिटब्युरो सदस्य ओम प्रकाश पुनसहित चार जना नेताले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

अहिलेको बदलिँदो विश्व राजनीति र राष्ट्रिय राजनिति मध्यनजर गरि अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेको जनाउँदै उनीहरुले पार्टी परित्याग गरेको जनाएका छन् ।

‘नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुविकृत गर्ने व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने वस्तुगत आवश्यकतालाई महसुस गरि त्यसकै प्रयास स्वरूप हामीले आजकै मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अहिलेसम्म सहकार्य गरेको सो पार्टीको आदरणीय नेतृत्व, सहयोद्धा र सहयोगी सम्पूर्ण सहयात्री कमरेडहरुलाई हार्दिक धन्यवादसहित भविस्यमा फेरि पनि राजनीतिका कुनैमा भेट हुने अपेक्षा गर्दै आजदेखि सो पार्टीमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिई अलग भएको घोषणा गर्दछौं ।’

टुट, फुट र विभाजनमा हैन एकताबद्ध र एकीकृत कम्युनिस्ट पार्टी निर्माणको दिशामा एकाकार हुन पनि उनीहरूले अपिल गरेका छन् । यसरी पार्टी परित्याग गर्नेमा पुनसहित पुनसहित सेती ब्युरो इन्चार्ज शंकरबहादुर खडका, दलबहादुर धामी र नरेश परियार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*