धान बालिमा क्षति पुगेका तिलोत्तमाका २७० किसानलाई राहत रकम
बुटवल। बेमौसमी वर्षाले धानबालीमा क्षति भएका तिलोत्तमाका किसानहरुले क्षतिपूर्ति प्राप्त गरेका छन् ।
गत वर्ष धान भित्राउने समयमा आएको बेमौसमी वर्षाका कारण धान बालिमा क्षति पुगेका नगरभित्रका २७० किसानले क्षतिपूर्ति रकम प्राप्त गरेका हुन् ।
तिलोत्तमा नगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी पीडित किसानहरुलाई राहत रकम ८ लाख ९६ हजार ७४१ रुपैँया रकम वितरण गरेको हो । पीडित किसानले आफ्नो क्षतिको आधारमा २ हजार १० देखि ८ हजार ४८८ रुपैँयासम्म क्षतिपूर्ति रकम पाएका छन् ।
गत भदौ १० गते बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार सुचिकृत पिडित किसानहरुलाई क्षतिपूर्ति रकम वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
राहत वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिका किसानहरूको अभिभावक भएको बताउँदै बेमौसमी बर्षाका कारण समस्यामा परेका किसानहरूलाई पहिलो किस्ता वापतको राहत रकम वितरण गरिएको बताउनुभयो ।
खाँडले किसानहरुका समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको समेत बताउनुभयो । धानबालि भित्राउने समयमा वर्षाका कारण धान बालिमा क्षति पुगेका किसानलाई केही मात्रामा भए पनि राहत पुगोस् भनेर संघ सरकारसँग समन्वय गरी पीडित किसानलाई पहिलो किस्ता वाफतको राहत रकम वितरण गरिएको र बाँकी रकमका लागि पनि आफूले पहल गरिरहेको बताउनुभयो ।
नगरप्रमुख खाँणले यो वर्ष पनि समयमै पानी नपर्दा किसानको धानबालि सुकेर क्षति भएका किसानलाई पनि राहत वितरण गरिने बताउनुभयो । किसानहरूले लगाएको बाली पहेँलो हुने, कुहिने लगायतका समस्या देखिएको गुनासो आएसँगै रोगको पहिचानसहित उपचारको प्रबन्ध मिलाउनको लागि बाली शिविर गरि सकिएको र दशैँ लगत्तै नगरभित्र के कति बालिमा क्षति भएको छ सो विवरण संकल्न गर्न लागि समिति गठन गर्ने तयारी रहेको बताउनुभयो ।
राहत रकम वितरणका लागि निम्न वर्ग, मध्यम वर्ग र उच्च वर्ग गरी तीन भागमा विभाजन गरी सोको आधारमा राहत रकम वितरण गरिएको नगरपालिका कृषि अधिकृत दोमलाल भुसालले बताउनुभयो । १० कट्ठासम्म धानबाली भएका किसानलाई निम्न, ११ देखि ५० कट्ठासम्म खेति गरेकालाई मध्य र सो भन्दा माथि धानबालि लगाएका किसानलाई उच्च वर्ग भनि विभाजन गरेको थियो ।
निम्न वर्गका किसानलाई क्षतिको ६५ प्रतिशत, मध्यम वर्गका किसानलाई ३० प्रतिशत र उच्च वर्गका किसानलाई क्षतिको २० प्रतिशतसम्म राहत रकम प्रदान गरिने कृषि अधिकृत भुसालले बताउनुभयो । राहत रकम लागि २७० किसानले फर्म भरेको र ती सबै किसानलाई राहत रकम प्रदान गरिएको कृषि अधिकृत भुसालले बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल लगायतले किसानलाई परेका समस्या समाधान गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।





















