उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको निष्कर्ष

खबरपथ संवाददाता
२६ भाद्र २०८१, बुधबार १९:५४

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुखले संसदीय मर्यादाविपरीत काम गरेकाले राजीनामा दिनुपर्ने निष्कर्ष निकाले कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका हुन् ।

उपसभामुख रानाले कूटनीतिक नियोगलाई पत्र लेखेर भिसा प्रक्रियाका लागि अनुरोध गर्नु पदीय मर्यादा विपरीत रहेको कांग्रेसको ठहर छ ।

उपसभामुख रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप छ । उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उनी विवादमा रहेकी छन् ।

कांग्रेसले उपसभामुख राना बारे थप निर्णय लिनुपरेमा कांग्रेस संसदीय दल र सत्तारुढको बैठक बसेर निर्णय लिने बताएको छ ।

त्यस्तै बैठकले पार्टी उपसभापति धनराज गुरुङ सहकारी प्रकरणमा मुछिएको विषयमा छानबिन हुनुपर्ने धारणा बनाएको छ । कांग्रेसले उपसभापति गुरुङको डिभोर्सको विषय निजी भएको तर सहकारी ठगि प्रकरणमा नाम जोडिएपछि त्यसको छानबिन हुनुपर्ने निष्कर्ष निकालेको घिमिरेले बताए । उनले भने- ‘डिभोर्स कानु्नीरुपमा २०७६ सालमा भइसकेपछि त्यो प्रश्नलाई नक्कली वा सक्कली भनेर संसदमा उठाउनु त्यो संसदीय बहसको विषय बन्न सक्दैन भन्ने कांग्रेसको धारणा छ तर सहकारीको विषयमा भने गुरूङमाथि छानबिन हुनसक्छ ।’

धनराज र उनकी श्रीमती ज्योतिमाथि ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा सहकारी संस्थाको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*