बुटवलको सेमलारमा क्यान्सर सम्बन्धि सचेतना
बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १५ र अर्बुद रोग निवारण संस्थाले संयुक्त रुपमा मंगलबार बुटवलको सेमलारमा क्यान्सर सचेतना कार्यक्रम गरेको हो ।
क्रिमसन अस्पताल मणिग्राम र विषादी न्यूनिकरण अभियानको सहयोगमा आयोजना गरिएको कार्यक्रममा बुटवल १५ स्थित नवरत्न माध्यमिक विद्यालयका विद्यार्थी, सोही वडाका जनप्रतिनीधि, टोल विकास संस्था, आमा समुहका समेत गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
सचेतना कार्यक्रममा सिनियर फिजिसियन, असिस्टेन्ट प्रोफेसर डा महेशराज घिमिरेले क्यान्सर के हो, किन हुन्छ, यसका लक्षणहरु, हुन नदिनका लागि के गर्न सकिन्छ र भईहालेमा उपचारका बारेमा प्रकाश पारेका थिए । त्यस्तैगरी विषादी न्यूनिकरण अभियानका हुमाकान्त काफ्लेले विषादीयुक्त खानेकुराले मावन स्वास्थ्यमा गर्ने असर लगायतका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष शिव रानाले मानिस स्वस्थ जीवनयापनका लागि स्वास्थ्य सम्बन्धि आधारभूत जानकारी हुनुपर्ने बताए । उनले पछिल्लो समय सर्ने भन्दा पनि नसर्ने रोगले विकराल रुप लिईरहेको र त्यसमापनि क्यान्सर रोगको अवस्था विराज बन्दै गएकाले वडा वासीलाई सचेत गराउनको लागि कार्यक्रम गरिएको जानकारी गराए ।
नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष खिमबहादुर हमालले विश्वमै नसर्ने रोगले विकराल रुप लिँदै गएको बताउँदै नसर्ने रोगमा पनि सबैभन्दा बढी देखिएको क्यान्सर विरुद्धको अभियानमा अर्बुद रोग निवारण संस्थाले सचेतना अभियान सञ्चालन गरेको बताए । उनले अहिले पनि रोग लुकाउने प्रबृत्ति रहेको भन्दै समयमै उपचार पाउने हो भने अकाल मृत्युबाट बँच्न सकिने भएकाले रोगका बारेमा बुझ्ने, जान्ने र सोही अनुसार स्वस्थ्य जीवनशैली अपनाउन सुझाव दिए ।






















