ज्योती जागृती आमा समूहले दियो महिलाहरुलाई उद्घोषण तालिम

खबरपथ संवाददाता
२१ चैत्र २०७८, सोमबार २३:०१

तिलोत्तमा । महिला सशक्तीकरणमा योगदान पु¥याउने उद्देश्य सहित रुपन्देहीको तिलोत्तमा–८ चार नम्बर स्थित ज्योती जागृती आमा समूहले “उदघोषण तालिम” सम्पन्न गरेको छ ।

आमा समूहमा आवद्ध महिलाहरुलाई लक्षित गरेर चैत १७ गतेदेखि पाँच दिनसम्म तालिम आयोजना गरिएको हो । तालिममा २५ जना महिलाको सहभागिता रहेको थियो । तालिममा लुम्बिनी मिडिया हव प्रालिका प्रमुख प्रकाश गौतम र पत्रकार लक्ष्मण पौडेलले सहजीकरण गरेका थिए ।

तालिम समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले तालिम लिईसके पछि हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए । उनले अवसर पाउने हो भने महिलाहरु पनि अगाडि बढ्न सक्छन् भन्ने कुराको उदाहरण तालिमले दिएको भन्दै यस्ता रचनात्मक काममा नगरपालिका र वडाको सदैव साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । महिलाको क्षमता विकासमा आफुले जस्तो सुकै योजना ल्याउन तयार रहेको बताउँदै वडाध्यक्ष पौडेलले उचित खालको सल्लाह दिन समेत आग्रह गरे ।

वडा सदस्य बिन्दु भण्डारीले महिलाहरुको क्षमता अभिवृद्धि तालिम समाज रुपान्तरणकै एउटा पाटो भएको भन्दै यसले महिलाहरुलाई सक्षम बनाउने मात्र नभई देश विकास मै योगदान गर्ने बताइन् ।
ज्योती जागृती आमा समूहकी निवर्तमान अध्यक्ष शान्ता भट्टराईले महिलाहरु घर बाहिर निस्कनु हुँदैन भन्ने कुरा बिस्तारै हट्दै गएको र यस्ता तालिमले महिलाहरुको क्षमता विकास र आत्मनिर्भरतमा भूमिका खेल्ने बताइ्न् ।
प्रशिक्षक लक्ष्मण पौडेलले यो तालिमले महिलाहरुमा आफ्नो कुरा आफै राख्न क्षमताको विकास भएको बिस्वाश आफुले लिएको बताउँदै नेतृत्व विकासमा यस्ता तालिम उपलब्धि मूलक हुने बताए ।

सहायक प्रशिक्षक लुम्बिनी मिडिया हव प्रालिकी दिपा न्यौपानेले नियमित अभ्यासले मात्रै महिलाहरुले सिकेको सिपलाई व्यवहारमा सदुपयोग गर्न सक्ने बताइन् । आमा समूहकी अध्यक्ष बबि कुमारी भट्टराईले आउँदा दिनहरुमा पनि महिलाका लागि कार्यक्रम ल्याउने बताउँदै सक्रियतापुर्वक तालिममा सहभागिता जनाएकोमा सबैलाई धन्यवाद व्यक्त गरिन् ।

त्यस अवसरमा आमा समूहकी उपाध्यक्ष मथुरा काफ्ले, सचिव सिता तिवारी, सहभागीहरु रिना थापा, माया भुसाल, थुमीसरा थापा, सीता पाण्डे लगायतले तालिमले आफूहरुमा परिवर्तन ल्याएको बताउँदै अव सक्रियतापुर्वक अगाडि बढ्न आफूहरुलाई प्रेरणा प्राप्त भएको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*