सुन फेरि महँगियो, तोलाको मूल्य ३ लाख ११ हजार ३०० रुपैयाँ पुग्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य पुनः बढेको छ। साताको तेस्रो कारोबार दिन सुन प्रतितोला ४०० रुपैयाँले महँगिएसँगै छापावाल सुनको मूल्य ३ लाख ११ हजार ३०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर नयाँ मूल्यमा पुगेको हो। सुनको मूल्य उच्च विन्दु नजिक कायम रहँदा बजारमा खरिद–बिक्री गतिविधिमाथि पनि यसको प्रभाव पर्ने देखिएको छ।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबार चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६६ हजार ८९० रुपैयाँ कायम भएको छ भने प्रति १० ग्राम चाँदी ४ हजार ६३४ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै पछिल्ला दिनमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।





















